नेपाल सम्बतमा सौर्यमासिक पात्रो नेसं ११४१ कछला १ देखि सुरु भएको हो जुन ग्रेगोरियन पात्रोमा २० अक्टोबर २०२० तारिख सँग जुद्छ । बोलीचालीको भाषामा यो सौर्यमासिक नेपाल सम्बतलाई ‘न्हिल्याः कथंया नेपाल सम्बत’ [मिति अनुसारको नेपाल सम्बत] भनिन्छ ।
सौर्यमासिक नेपाल सम्बत पृथ्वीले सूर्य घुम्ने समयावधिमा आधारित छ । यसमा हरेक वर्ष ३६५ दिन हुन्छ भने अधिक वर्ष (लीप इयर)मा ३६६ दिन ।
महिनाहरू
नेपाल सम्बतमा बाह्र महिनाहरू छन् । ती यस प्रकारका छन् :
क्रसं | महिनाको नाम | ||
देवनागरी लिपि | प्रचलित नेपाल लिपि | रोमन लिपि | |
१ | कछला | 𑐎𑐕𑐮𑐵 | Kachhalā |
२ | थिंला | 𑐠𑐶𑑄𑐮𑐵 | Thinlā |
३ | प्वँहेला | 𑐥𑑂𑐰𑑃𑐴𑐾𑐮𑐵 | Ponhelā |
४ | सिल्ला | 𑐳𑐶𑐮𑑂𑐮𑐵 | Sillā |
५ | चिल्ला | 𑐔𑐶𑐮𑑂𑐮𑐵 | Chillā |
६ | चौला | 𑐔𑑁𑐮𑐵 | Chaulā |
७ | बछला | 𑐧𑐕𑐮𑐵 | Bachhalā |
८ | तछला | 𑐟𑐕𑐮𑐵 | Tachhalā |
९ | दिल्ला | 𑐡𑐶𑐮𑑂𑐮𑐵 | Dillā |
१० | गुंला | 𑐐𑐸𑑄𑐮𑐵 | Gunlā |
११ | यंला | 𑐫𑑄𑐮𑐵 | Yanlā |
१२ | कौला | 𑐎𑑁𑐮𑐵 | Kaulā |
प्रत्येक महिनामा दिनहरू
पहिलो पाँच महिना कछला, थिंला, प्वँहेला, सिल्ला र चिल्लामा प्रत्येक महिला ३० दिन हुन्छ । छैँठौँ महिना चौलामा सामान्य वर्ष २९ दिन र अधिक वर्ष (लीप इयर)मा ३० दिन हुन्छ । बाँकीको ६ महिना बछला, तछला, दिल्ला, गुंला, यंला र कौलामा प्रत्येक महिना ३१ दिन हुन्छ ।
अधिक वर्ष (लीप इयर)
अधिक वर्षको अवधारणा विभिन्न सौर्यमासिक सम्बतहरूमा हुने गर्दछ । पृथ्वीले सूर्य घुम्न लगभग ३६५.२५ दिन लगाउँछ । नेपाल सम्बतमा प्रत्येक वर्ष ३६५ दिन हुन्छ । यसो हुँदा प्रत्येक वर्ष हामी ०.२५ दिन पछाडी पर्दै जान्छौँ र कालान्तरमा उक्त सम्बत चक्र मौसम र वास्तविक समयबाट टाढिँदै जान्छ । त्यही हुनबाट रोक्न अधिक वर्षको अवधारणा रहन आएको हो ।
अधिक वर्षहरूमा वर्षको एक दिन थपी ३६६ दिनको वर्ष हुन पुग्छ । यही थपिएको एक दिनलाई ‘तँसा दिं’ भनिन्छ । यो दिन छैँठौँ महिना चौलामा थपिन्छ र सामान्य वर्षमा यस महिना २९ दिन हुन्छ भने अधिक वर्षमा ३० दिन हुन्छ ।
अधिक वर्ष लगभग ४ वर्षमा एकपटक आउँछ । कुन वर्ष अधिक वर्ष हो भनेर देहायको गणितले निर्धारण गरिन्छ :-
१) उक्त सालको संख्यामा ८८० जोडौँ ।
२) यदि त्यस संख्या ४ बाट समविभाजित हुन्छ भने बुँदा नं २ मा जानु । हुँदैन भने त्यो अधिक वर्ष होइन ।
३) यदि त्यस सालको संख्या १०० बाट पनि समविभाजित हुन्छ भने बुँदा नं ३ मा जानु । हुँदैन भने त्यो अधिक वर्ष हो ।
४) यदि त्यस सालको संख्या ४०० बाट पनि समविभाजित हुन्छ भने त्यो अधिक वर्ष हो । हुँदैन भने त्यो अधिक वर्ष होइन ।
नेपाल सम्बतमा अर्को १०० वर्ष सम्म आउने अधिक वर्षहरू यस प्रकारका छन् : ११४४, ११४८, ११५२, ११५६, ११६०, ११६४, ११६८, ११७२, ११७६, ११८०, ११८४, ११८८, ११९२, ११९६, १२००, १२०४, १२०८, १२१२, १२१६, १२२४, १२२८, १२३२, १२३६, १२४० ।
मिति लेख्ने ढाँचा
नेपाल सम्बतको मिति वर्ष-महिना-गते (YYYY/MM/DD) ढाँचामा लेखिन्छ ।
वर्ष – दँ [ प्रचलित नेपाल लिपि : 𑐡𑑃 ]
महिना – ला [ प्रचलित नेपाल लिपि : 𑐮𑐵 ]
गते – न्हिल्याः [ प्रचलित नेपाल लिपि : 𑐣𑑂𑐴𑐶𑐮𑑂𑐫𑐵𑑅 ]
नेपाल सम्बतलाई छोटकरीमा ‘नेसं’ (N.S.) भनेर लेखिन्छ ।
साता
एक सातामा ७ दिन हुन्छ । नेपालमा साताहरू आइतबार देखि सुरु हुन्छ र शनिबार समाप्त हुन्छ । सातालाई नेपालभाषामा ‘वाः’ [ प्रचलित नेपाल लिपि : 𑐰𑐵𑑅 ] भनिन्छ । ‘बार’लाई ‘बाः / बार’ [ प्रचलित नेपाल लिपि : 𑐧𑐵𑑅 / 𑐧𑐵𑐬 ] भनिन्छ ।
१) आइतबाः – आइतबार
२) सोमबाः – सोमबार
३) मङ्गलबाः – मंलबार
४) बुधबाः – बुधबार
५) बिहिबाः वा बसुबाः – बिहीबार
६) सुक्रबाः – शुक्रबार
७) सनिबाः / सन्चरबाः – शनिबार
नयाँ वर्ष
नेपाल सम्बतको सौर्यमासिक नयाँ वर्ष कछला १ गते पर्दछ, जुन ग्रेगोरियन सम्बत अनुसार २० अक्टोबरमा पर्न आउँछ ।
नेपाल सम्बत नै सुरु भएको सन् २० अक्टोबर ८७९ मा हो । त्यसैले नेसं ११४१ सौर्यमासिक पात्रो सुरु गर्न २० अक्टोबर २०२० का दिन छानियो ।
शताब्दी
एक सय वर्षलाई ‘एक शताब्दी’ भनिन्छ । नेपालभाषामा यसलाई ‘सदि’ [ प्रचलित नेपाल लिपि : 𑐳𑐡𑐶 ] भनिन्छ । ‘सच्छि दँ दिइगु’ [ प्रचलित नेपाल लिपि : 𑐳𑐔𑑂𑐕𑐶 𑐡𑑃 𑐡𑐶𑐂𑐐𑐸 ] – ‘सय वर्षको विश्राम’बाट नेपालभाषामा ‘सदि’ शब्दको उत्पत्ति भएको हो ।
नेपाल सम्बत वर्ष १ देखि सुरु भएको अर्थात् नेसं १ देखि सुरु भएको हुनाले एक शताब्दी एक देखि सय ( १ देखि १०० ) सम्म हो । नेसं ११४१ सालमा हामी १२औँ शताब्दीमा छौँ । बाह्रौँ शताब्दी नेसं ११०१ देखि सुरु भयो र नेसं १२०० सालमा अन्त्य हुन्छ ।
पहिलो शताब्दी : नेसं १ देखि नेसं १००
दोस्रो शताब्दी : नेसं १०१ देखि नेसं २००
तेस्रो शताब्दी : नेसं २०१ देखि नेसं ३००
चौथो शताब्दी : नेसं ३०१ देखि नेसं ४००
पाँचौँ शताब्दी : नेसं ४०१ देखि नेसं ५००
छैठौँ शताब्दी : नेसं ५०१ देखि नेसं ६००
सातौँ शताब्दी : नेसं ६०१ देखि नेसं ७००
आठौँ शताब्दी : नेसं ७०१ देखि नेसं ८००
नवौँ शताब्दी : नेसं ८०१ देखि नेसं ९००
१०औँ शताब्दी : नेसं ९०१ देखि नेसं १०००
११औँ शताब्दी : नेसं १००१ देखि नेसं ११००
१२औँ शताब्दी : नेसं ११०१ देखि नेसं १२००
दशक
नेपाल सम्बत नेसं १ देखि सुरु भएको हुनाले दशकहरू १ देखि १०, ११ देखि २०, २१ देखि ३० गरी गनिन्छ । ‘दशक’लाई नेपालभाषामा ‘झिदि’ [ प्रचलित नेपाल लिपि : 𑐗𑐶𑐡𑐶 ] भनिन्छ । ‘झिदँ दिइगु’ [ प्रचलित नेपाल लिपि : 𑐗𑐶𑐡𑑃 𑐡𑐶𑐂𑐐𑐸 ] – ‘दश वर्ष विश्राम’बाट ‘झिदि’ शब्दको उत्पत्ति भएको हो ।
पहिलो शताब्दीका दशकहरू :
पहिलो दशक : नेसं १ देखि नेसं १०
दोस्रो दशक : नेसं ११ देखि नेसं २०
तेस्रो दशक : नेसं २१ देखि नेसं ३०
चौथो दशक : नेसं ३१ देखि नेसं ४०
पाँचौ दशक : नेसं ४१ देखि नेसं ५०
छैँठौँ दशक : नेसं ५१ देखि नेसं ६०
सातौँ दशक : नेसं ६१ देखि नेसं ७०
आठौँ दशक : नेसं ७१ देखि नेसं ८०
नवौँ दशक : नेसं ८१ देखि नेसं ९०
दशौँ दशक : नेसं ९१ देखि नेसं १००
बाह्रौँ शताब्दीका दशकहरू :
पहिलो दशक : नेसं ११०१ देखि नेसं १११०
दोस्रो दशक : नेसं ११११ देखि नेसं ११२०
तेस्रो दशक : नेसं ११२१ देखि नेसं ११३०
चौथो दशक : नेसं ११३१ देखि नेसं ११४०
पाँचौ दशक : नेसं ११४१ देखि नेसं ११५०
छैँठौँ दशक : नेसं ११५१ देखि नेसं ११६०
सातौँ दशक : नेसं ११६१ देखि नेसं ११७०
आठौँ दशक : नेसं ११७१ देखि नेसं ११८०
नवौँ दशक : नेसं ११८१ देखि नेसं ११९०
दशौँ दशक : नेसं ११९१ देखि नेसं १२००
नेपाल सम्बत पूर्व
नेसं १ देखि अगाडीको समयमा गणना उल्टोबाट हुन थाल्छ । ‘नेपाल सम्बत पूर्व’लाई ‘नेसं.पू’ भनिन्छ ।